
काठमाडौं । गत जनवरी ६ मा संसद भवनमा भएको हिंसात्मक घटनामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको संलग्नता नरहेको उहाँका कानुन व्यवसायीहरुले दावी गरेका छन् ।
सद भवनमा भएको हिंसात्मक आक्रमणका लागि समर्थकहरुलाई उक्साएको अरोपमा महाअभियोगको सामना गरेका ट्रम्पका वकिलहरुले घटनामा ट्रम्पको कुनै संलग्नता नै नरहेको भन्दै बचाउ गरेका हुन् ।
संसद भवनमा एक प्रहरी अधिकारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको थियो । सो आक्रमणमा ट्रम्पको संलग्नता छ भन्नु गम्भीर झुठ बाहेक केही नरहेको सिनेटमा भइरहेको सुनुवाइका क्रममा उहाँका वकिलहरुले बताएका छन् ।
वकिल भाइक्ष्कल भान डेर वीनले पूर्व राष्ट्रपतिविरुद्ध भइरहेको महाअभियोगको सुनुवाई राजनीतिक रुपमा प्रेरित भएर डेमोक्र्याटहरुले गरेको ‘विच हण्ट’ मात्रै रहेको दाबी गर्नुभएको सीएनएनले उल्लेख गरेको छ ।
ट्रम्पको डिफेन्स टिमले सिनेटमा सुनुवाईको क्रममा पाएको १६ घण्टाको समय मध्ये चार घण्टा भन्दा कम मात्रै प्रयोग गरे । उनीहरु महाअभियोगको सुनुवाई प्रक्रिया चाँडो पूरा गर्ने पक्षमा देखिएका छन् ।
गत नोभेम्बर ३ मा भएको निर्वाचनमा पराजित भएका ट्रम्पले नतिजा स्वीकार गर्न नमानी धाँधली भएको आरोप लगाउनुभएको थियो । सोही क्रममा ट्रम्पले आफ्ना समर्थकले निर्वाचनको नतिजा उल्ट्याउनका लागि अन्तिम प्रयास गर्न निर्देशन दिनुभएको थियो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो ।
तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महअभियोग लागेको थियो । तर माथिल्लो सदन सिनेटबाट सो प्रस्ताव पारित हुन सकेको थिएन । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुनुहुन्छ ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्