
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले जनयुद्ध दिवस मनाउने भएका छन् ।
तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिबार जनयुद्ध दिवस मनाउन लागिएको हो । सबै जिल्लाहरुलाई पनि जनयुद्धको दिवसको अवसरमा शहीद स्मृति तथा सम्मान कार्यक्रम गर्न सर्कुलर पठाएको दाहाल–नेपाल समूहले जनाएको छ ।
काठमाडौंमा शहीद स्मृति तथा सम्मान कार्यक्रम हुँदैछ । सो कार्यक्रममा विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ ।
कार्यक्रममा अध्यक्ष दाहाल सहभागी हुने भएपनि अर्का अध्यक्ष माधव नेपाल धनकुटामा रहेकाले सहभागिता नहुने भएको नेताहरुले बताएका छन् । यता प्रधानमन्मन्त्री केपी शर्मा ओली समूहरुले भने दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना गरेको छैन ।
तर आजकै दिन ओली निकट नेकपाले बुटवलमा जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
सभाको पूर्वसन्ध्यामा हिजो नेकपाका युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल ¥याली निकालेका थिए । उनीहरूले बुटवलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए । नेकपाको सो समूहले यसअघि दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा शक्ति प्रदर्शन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्