२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


६ महिनामा भटमासको तेल निर्यातमा २ सय ८९ प्रतिशतले वृद्धि


0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष ०७७/०७८ को ६ महिनामा भटमास तेल निर्यात दुई सय ८९ प्रतिशतले बढेको छ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने भटमासको तेल ६ महिनामै यति धेरै प्रतिशतले वृद्धि भएको हो ।

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्यांकअनुसार, ६ महिनामा १७ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । यो नेपालबाट निर्यात हुने वस्तुहरूमध्ये सबैभन्दा धेरै हो । अघिल्लो वर्ष सो अवधिमा ४ अर्ब ३७ करोड ७३ लाख ५५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको थियो ।

भारतले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै व्यवसायीले भटमास तेलको कच्चा पदार्थ आयात गरेर पुनः निर्यात गरेका हुन् । ६ महिनाको अवधिमा व्यवसायीले १७ अर्ब ६७ करोड १२ लाख २ हजार रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ आयात गरेका छन् ।

कच्चा पदार्थ आयात गरेर मुलुकमा प्रशोधन गरी व्यवसायीले पुनः निर्यात गर्ने गरेका छन् । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले गत वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिएको छ । तथ्यांकअनुसार चालू आर्थिक वर्षको सुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।

यस्तै नेपालबाट निर्यात हुनेमा दोस्रो नम्बरमा अलैंची परेको छ । ६ महिनामा अलैंचीको निर्यातमा ५१ प्रतिशतले बढेर ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष सो अवधिमा २ अर्ब ५१ करोड ८२ लाख १० हजार रुपैयाँको निर्यात भएको छ ।

यस्तै चिया निर्यातमा ६७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ५३ लाख ९७ हजार रुपैयाँको निर्यात भएको केन्द्रको तथ्यांक छ । अघिल्लो वर्ष ६ महिनामा १ अर्ब ६५ करोड ६९ लाख ७५ हजार रुपैयाँको निर्यात भएको थियो । यस्तै ६ महिनामा चाउचाउ र पास्ता निर्यातमा ६३ प्रतिशतले बढेर ९५ करोड ४ लाख ३९ हजार रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष सो अवधिमा ५८ करोड १८ लाख ५७ हजार रुपैयाँको निर्यात भएको थियो ।