
दिवस रिजाल
विदेशमा श्रम गरेर खोटाङ फर्किनेहरुलाई हिजोआज कृषिको काममा ब्यस्त देख्न सकिन्छ । स्वदेशमै केहि गर्छु भनेर फर्केका जीवनाथ आचार्य अहिले तरकारी खेतीबाटै वार्षिक ४ लाख रुपैयाँ आम्दानी गर्न थालेका छन् ।
५ वर्ष कतार बसेर सीप सिकी स्वदेशमै केहि गर्छु भनेर ११ लाख रुपैयाँमा १० रोपनी जमिन किनेर तरकारी खेती सुरु गरेका उहाँले तरकारी खेतीबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।
तरकारी खेतीका लागि २ सय ५० मिटर लामो टनेल बनाएर त्यसभित्र टमाटर, कांक्रो, लौका, अकबरे खुर्सानी लगाएका छन् । विदेशमा रोजगारी भएपनि आत्मर्निभर स्वदेशमै बन्न सकिने उहाँको भनाइ छ र्। आफ्नै देशमा परिवारसँग बसेर काम गर्न सकिने तथा आम्दानीको स्रोत बन्ने भएकाले कृषि सुरु गरेका कृषक जिवनाथ आचार्यले बताउनु भयो ।
कृषि फार्म सञ्चालनमा ल्याउन हालसम्म झण्डै १५ लाख रुपैयाँ लगानी गरेपनि बारीमा लटरम्म राताम्मे गोलभेडा देख्दा उनको मन पनि रौसीएकै छ । सुरुमा साधारण कृषि खेती गरेर अहिले १० रोपनी जग्गामा पूरै टमाटर र काक्रो रोप्न र गोडमेल गर्नमै उन्को दिनचर्या बित्छ । हाल १० रोपनी जग्गामा तरकारी खेती गरि सबै खर्च कटाएर वार्षिक ४ लाख रुपैयाँ आम्दानी हुन थालेको आचार्यले बताउनुभयो ।
टमाटर र कांक्रा नजिकैको दिक्तेल बजारमा लगेर बेच्न उनकी श्रीमतीले सघाउने गर्नुहुन्छ । उहाँको कृषि कर्म देखेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालेसमेत एक लाख रुपैँया अनुदान दिएको छ । व्यवस्थित बजार भए तरकारी खेतीमा युवालाई आकर्षित गरी कृषिमै राम्रो आम्दानी लिनसक्ने उहाँको भनाई छ ।
सबै खर्च कटाएर ३, ४ लाख रकम वचत हुने कृषक जिबनाथ आचार्यले बताउनुभयो । आचार्यले कृषि पेशा राम्रो भएकाले युवालाई पनि कृषि गर्न सुझाव दिनुहुन्छ । दुर्गम जिल्ला भएकै कारण कृषि खेतीमा आम कृषकको नजर भने त्यती गएको पाइदैन । तर, उव्जाउ जमिन बाँझो राखेर विदेश जाने परिपाटीले कतिपय खेतीयोग्य जमिन भने बाँझै छन । त्यसैले पनि बिदेशमा जान मरिहत्ते गर्ने युवाहरुलाई स्वदेशमै कृषिकर्म गर्नकोलागि सरकारले पनि युवामैत्री कृषि नीति ल्याउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्