
काठमाडौं । कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान आइतबारबाट शुरु हुंदैछ । तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाइने स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।
पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएलगत्तै अर्को चरणको खोप कार्यक्रम फागुन २ देखि ८ सम्म निर्धारण गरिएको हो । फागुन २ बाट हुने अभियानमा ३ लाख जनालाई खोप लगाउने सरकारको योजना छ ।
उनीहरूलाई पहिलो चरणको पहिलो प्राथमिकतामा परेका स्वास्थ्यकर्मीलाई खोप दिएको ठाउँबाट खोप दिन लागिएको हो । यसअघि भारतले १० लाख मात्रा कोभिसिल्ड खोप अनुदानमा दिएपछि पहिलो चरणमा माघ १४ देखि २४ सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।
जसमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएका थिए । खोप कार्यक्रममा ८२ प्रतिशत स्वास्थ्यकर्मीले खोप लगाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले निर्धारण गरेको दोस्रो प्राथमिकताका उमेर समूहलाई लक्षित खोप कार्यक्रम भने कोभ्याक्समार्फत खोप आएलगत्तै सुरु गर्ने योजना बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्