१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री कार्यालयको पुनःनिर्माण सम्पन्न, ओलीले आज उ्दघाटन गर्ने


0
Shares

काठमाडौं । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनर्निर्माण गरिएको जानकारी दिनुभयो ।

पुनःर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःर्निर्माण गरिएको थियो ।

भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणाली जडान गरिएको छ ।