
सर्लाही । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा राँगाले हानेर चारजना घाईते भएका छन् । घाईतेमध्ये एक वृद्धाको अवस्था गम्भीर रहेको छ ।
वडा कार्यालयले भैँसीपालक किसानका लागि छाडेको सार्वजनिक राँगाले हानेर ईश्वरपुर नगरपालिका–१३, की मुलीदेवी महतो, तारादेवी महतो, विजय महतो र ईश्वरपुर नगरपालिका–१४, का सुमन विक घाईते हुनु भएका हुन् ।
घाईतेमध्ये ७० वर्षीया मुलीदेवी महतोको अवस्था गम्भीर रहेको छ । टाउको र छातीमा चोट लागेर घाईते वृद्धाको गाउँकै स्वास्थ्य संस्थामा उपचार चलिरहेको श्रीनगरका ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो । अन्य तीनजना घाईतेको अवस्था भने सामान्य छ ।
आईतबार दिउँसो मुलीदेवी र तारादेवीलाई खेतमा उखु काट्दै गर्दा राँगाले हान्न थालेपछि छुट्याउन खोज्दा विजयलाई पनि घाईते बनाएको र सुमनलाई भने बाटोमा हिँडिरहेको बेला राँगाले हानेर घाईते बनाएको हो ।
सार्वजनिक रुपमा छाडिएको राँगाले यसरी मान्छेलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्