
एजेन्सी । पश्चिमी अफ्रिकी देश गिनियामा फेरि इवोला भाइरसको प्रकोप देखा परेको छ । भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण देखिएको छ । यससँगै गिनियामा औपचारिक रुपमा नयाँ भाइरस प्रकोपको घोषणा गरिएको छ ।
लाइबेरियाको सिमाना नजिक रहेको गोउके भन्ने स्थानमा बिरामी परेका ७ जनामा झाडापखाला, बान्ता हुने र रगत बग्ने लक्षण देखा परेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । संक्रमित बिरामीहरूलाई उपचार केन्द्रमा अलग्गै राखेर उपचार भइरहेको छ ।
स्वास्थ्यमन्त्री रेमी लामाहले यस अवस्थाको सामना गर्नुपरेकोले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अनुरूप सरकारले इबोला महामारीको घोषणा गरिएको बताउनुभएको छ । यसअघि सन् २०१३ देखि २०१६ मा पनि गिनियाबाट सुरु भएको भाइरस संक्रमणबाट ११ हजार भन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला गिनिया, लाइबेरिया र सियरा लियोन सबैभन्दा धेरै प्रभावित भएको थियो ।
पछिल्लो इबोला निदानको पुष्टि गर्नको लागि दोस्रो चरणको परीक्षणहरू सञ्चालन भइरहेको बताइएको छ । गिनिया सरकारले इबोला नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य एजेन्सीहरूसँग सहयोगका लागि अपिल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्