१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रान्तिकारी हुलिया


0
Shares

आज उ रातै छे
सिउँदोमा सिन्दुर
गलामा पोते
निधारमा टीका
ओठमा रातो भद्दा लिपिष्टिक
घाँटीमा छड्के तिलहरी
रातै बनारसी साडी
र अत्तरको बासनाले सारालाई आफूतिर तान्ने
उसको मादकता ।
हो म आज उनलाई एकटक हेरिरहेको छु
र त्यो विगतमा पुगेको छु ।

चुरा, पोते र सिन्दुर त
नारीलाई बाँध्ने एउटा वस्तु हो ।
निधारको रातो टिका
नारीलाई कमजोर बनाउने
सौन्दर्यको चीज हाे ।
हामी स्वतन्त्र छौं
हामीले जे–जे पहिरिएका छाैं,
त्यो पितृसत्ताको उपज हो ।
त्यसैले यो जन्जिर तोड्न
हामी आफैं जुट्नुपर्छ
हर बन्धनबाट स्वतन्त्र भई,
एउटा लामो यात्राका लागि उठ्नुपर्छ ।
यस्तै भाषण सुनेर
कति–कति नारीहरूले आफ्नो सिन्दुर मेटाए,
चुरा फुटाए र क्रान्तिको डरलाग्दो यात्रामा होमिए ।

त्यो यात्राका क्रममा मेटिएका सिन्दुर
आज उसकै सिउँदोमा हाँसेको छ ।
फुटेका चुरा उसकै हातमा सजिएको छ ,
फालिएका प्रियतमाका उपहार पोते
काँधै भाच्चिएला जस्तो गरी,
उनकै गलामा लच्किएको छ
स्वतन्त्रताको भाषणबाट थालिएको उनको क्रान्ति
यो अवस्थामा पुगेको देखेर
उनलाई हेरिरहन मन लागेको छ ।
नारी सौन्दर्य रूप विलासितामा होइन,
‘ब्रेन’मा हुनुपर्छ भन्ने उनको
यो क्रान्तिकारी हुलिया ।