
काठमाडौं । नेपाल बार एशोसिएशनको महिला समितिले बैतडीकी भागरथी भट्ट र कञ्चनुपरकी निर्मला पन्त लगायत देशभर भएका बलात्कार र हत्याका दोषीहरुलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरेका छन् ।
बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र दिँदै उनीहरुले बलात्कार लगायतका महिला हिंसा, अपराध नियन्त्रणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । एशोसियसनले देशमा भइरहेको महिला हिंसाका घटनाका दोषीलाई कानुनी कारबाहीमा ल्याउन नसक्नुले राज्यसंयन्त्र नागरिकको जीवनरक्षाको दायित्वप्रति लापरबाह रहेको निष्कर्ष निकालेको छ ।
राज्य आफ्नो दायित्वप्रति जिम्मेवारी र जवाफदेही हुन नसकेर देशमा बलात्कारीको मनोबल बढिरहेको र सरकार र राज्य संयन्त्रमाथिको नागरिकको विश्वास र भरोसा घटिरहेको एसोसियसनको भनाइ छ । कानूनको उचित कार्यान्वयन गर्न राज्य प्रशासन चुक्दै जाने हो र दण्डहिनतालाई प्रश्रय दिदै जाने हो भने बलात्कार घटनाका श्रृंखलाहरु नरोकिने महिला समितिके ठहर छ ।
बलात्कारजस्तो जघन्य, अमानवीय र नीच घटनाका अपराधी र उसलाई जोगाउन खोज्ने समाज तथा बलत्कारीलाई राजनीतीक संरक्षण दिने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्रको उपस्थिति दह्रो र निष्पक्ष हुनुपर्नेमा बार एसोसिएसन महिला समितिको जोड छ ।
नेपालमा २०७५ देखि २०७७ सम्ममा ६ हजार ८ सय ४४ महिलामाथि बलात्कार भएको प्रहरी तथ्याङ्क सार्वजनिक भएको छ । जसमा ३ हजार ३ सय ४६ बालिका बलात्कृत भएका छन् र अपराध लुकाउन १७ जनाको हत्या भएका छन् ।
प्रतिक्रिया दिनुहोस्