
भरत शर्मा
पाल्पा । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि निजी स्वास्थ्य संस्थामा उपचारका लागि सरकारी अस्पतालले रेफर (उपचार गराइदिनु भन्ने सिफारिस पत्र) बनाइदिनुपर्ने हुन्छ ।
पाल्पाका लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा स्वास्थ्य उपचार गराउन बीमा सेवाका लागि पाल्पा अस्पतालले रेफर गर्ने गर्दछ । तर, पाल्पा अस्पतालमा आवश्यक जनशक्ति अभावका कारण बिरामीहरू दिनभर रेफरका लागि मात्र लाइनमा बस्नुपर्ने अवस्था छ ।
पाल्पा अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, जनशक्तिको अभाव र विशेषज्ञ अभावका कारण बिरामीहरू निजी अस्पतालमा उपचार गर्न जानुपर्ने बाध्यता छ । विशेषगरी ग्रामीण क्षेत्र र पाल्पाबाहेक अन्यत्र जिल्लाका बिरामीहरूलाई उपचारका लागि दुई दिन लाग्ने गरेको रेफर लिन आएका बिरामीहरूको गुनासो छ ।
कोरोना भाइरसको प्रभाव अझै पनि कायम रहेको अवस्थामा बिरामीहरू दुरी कायम नगरी घण्टौ लाइनमा बस्नु पर्ने अवस्था छ । पाल्पा अस्पतालको व्यवस्थापनको कमीका कारण बिरामी लाइनमा बस्नु परेको अस्पतालका सूचना अधिकारी विसर्जन शर्मा बताउनुहुन्छ ।
‘हामीसँग भएको न्यूनतम जनशक्ति र भौतिक संरचनालाई अधिकतम प्रयोग गरेर सेवा दिन प्रयास गरिरहेका छौं,’ उहाँ भन्नुहुन्छ, ‘यसमा केही ससस्या देखिएका छन्, त्यसलाई सुधार्ने प्रयास भइरहेको छ ।’
आम नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रम निकै प्रभावकारी भएको भए पनि सरकारी स्वास्थ्य संस्थाहरुमा विशेषज्ञ सेवासहित आवश्यक सुविधा भएमा स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच पुग्छ ।
प्रतिक्रिया दिनुहोस्