
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्धामा एमिकस क्युरीले आज पनि संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ ।
मंगलबारबाट सुरु भएको बहसमा पहिलो दिन बद्रिबहादुर कार्कीले आफ्नो राय दिनुभएको थियो । दोस्रो दिन हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो ।
खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गर्नुभएको थियो ।
मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गर्नुभएको थियो । आज पनि एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहस गर्ने बताइएको छ ।
एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुधएको थियो । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।
ती रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस जारी छ । सर्वोच्चले यस विषयमा राय लिनका लागि पाँच सदस्यीय एमिकस क्युरी झिकाएको थियो ।
प्रतिक्रिया दिनुहोस्