६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी छः राष्ट्रसंघ


0
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा कोरोना भाइरसविरुद्धको खोप वितरणमा देखिएको असमानताको विषयप्रति असन्तुष्टि जनाएको छ ।

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले खोप वितरणको विषयलाई लिएर चर्को आलोचना गर्नुभएको छ । उहाँले खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी रहेको बताउनुभएको छ ।

गुट्रेसले कोभिड कुल भ्याक्सिनको ७५ प्रतिशत मात्र १० देशको नियन्त्रणमा रहेको भन्दै कुनै देशमा भ्याक्सिन नै उपलब्ध नहुनु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले दुनियाभर १ सय ३० देशमध्ये केहि देशहरुमा भ्याक्सिन नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले यो महामारीको समयमा भ्याक्सिनको समान वितरण विश्व समुदायको नैतिक परीक्षाको समय भएकाले आपतकालिन खोप अभियानको योजनामा सबै देशको साथ रहनुपर्नेमा जोड दिनुभयो ।

भ्याक्सिनको समान वितरणको सुनिश्चितताका लागि जी ट्वान्टीमा सहभागी ठूला अर्थतन्त्र भएका राष्ट्रहरुले आपतकालिन कार्यदल गठन गर्नुपर्ने र यसमा औषधी उत्पादक कम्पनीलाई पनि सामेल गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । एजेन्सी