२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

९७ लाखमा पक्रैयावासीको घरघरमा पानी


0
Shares

केशर पुन मगर
रुकुम पश्चिम । सानिभेरी गाउँपालिका– १ पक्रैया गाउँका १ सय ६१ घरधुरीमा खानेपानीको धारा पुगेको छ । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पक्रैयावासी स्थानीय सरकार आएको केही वर्षमै घरआँगनमै पानी पिउन पाउँदा खुशी भएका छन् ।

कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी सरसफाइ तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको ७८ लाख रुपैयाँको र १९ लाख रुपैयाँको जनश्रमदान गरी ९७ लाखमा पक्रैयावासीको घर–घरमा पानीको धारा पुगेको हो ।

५ वटा ट्यांकी र ५ किलोमिटरको दुरीबाट पाइपलाइन विस्तार गरेर निर्माण सम्पन्न गरिएको सियाला–भण्डारवन पक्रैया चिसापानी वृहत खानेपानी आयोजना आएपछि स्थानीय खुशी भएका छन् । स्थानीय सरकारको घर–घरमा पानीका धारा पु¥याउला भन्ने विश्वास नगरेका नागरिकले अहिले एक घर एक खानेपानीको धारा आयोजनाअन्तर्गत करेसाबारीमा सिंचाइ गरेर तरकारीसमेत उत्पादन गरेका छन् ।

घरमै नियमित पानी पिउन पाएका पक्रैयावासीको खुशी कायम राख्न मर्मत कार्यमा जोड दिने र टोल टोलमा उपभोक्ता समिति गठन गर्ने निर्माण समितिका अध्यक्ष अमरसिंह पुन बताउनुहुन्छ । तर, टोल–टोलमा पाइपलाइन फुटेर खेर गइरहेका पानी सदुपयोग गर्न स्थानीयले पनि उपभोक्ता समितिलाई साथ दिनुपर्ने अध्यक्ष पुन बताउनुहुन्छ ।

स्थानीय सरकार पनि नागरिकलाई शुद्ध पानी दिर्घकालीन रूपमा उपभोग गर्नका लागि मुहान वरपर वृक्षारोपण गर्ने योजनामा छ । जनघनत्व बढेर पानी नपुग्ने अवस्था आएमा लिफ्टिङमार्फत पानी उपलब्ध गराउन सकिने वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन ‘विशाल’ बताउनुहुन्छ ।