२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


मार्च पासमा सहभागीहरुलाई ज्यान मार्ने धम्कीको भर्त्सना


0
Shares

काठमाडौं । नागरिक आन्दोलनमा सहभागी अभियन्ता र स्रष्टाहरूलाई लक्ष्य गरी सामाजिक सञ्जालबाट धम्की दिने र घृणा फैलाउने कार्यको बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ ।

नागरिक आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति जारी गदै भत्र्सना गदै यस्ता क्रियाकलापमा संलग्नबारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तुरुन्त कारबाही अघि बढाउन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

‘गत माघ ३० गते काठमाडौँमा आयोजित महिला मार्चमा सहभागी अभियन्ता र स्रष्ठाविरुद्ध दिइएको धम्की र फैल्याइएका घृणाविरुद्ध वृहत् नागरिक आन्दोलन आवाज बुलन्द बनाउन चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनका अभियन्ताहरु सपना सञ्जिवनी, मोहना अन्सारी, पल्लवी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक, ट्वीटर जस्ता विद्युतीय सञ्जालमा ज्यान मार्ने र बलत्कार गर्ने जस्ता निकृष्ट धम्की दिइएको छ ।

यसरी धाकधम्की दिने, ट्रोलिङ गर्ने र साइबर दुर्व्यवहार गर्ने काममा संलग्न व्यक्ति र समूहका आपराधिक नियतविरुद्ध सिँगो नागरिक आन्दोलन निर्भयसाथ डट्नेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमार्फत् विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो। महिला लगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ। प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने गरेका छन्। तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरू अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पुर्‍याउनु हो। प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुँदै आन्दोलित हुन जरुरी छ।‘