
काठमाडौं । नागरिक समाजले आज टुँडिखेल घेर्ने भएको छ । बृहत् नागरिक आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको जनाएको छ ।
बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो ।
प्रधानन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको नागरिक समाजले आज टुंडिखेल घेर्न लागेको हो ।
समाजले टुँडिखेलमा हुने मार्चमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ ।
त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ । गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकार तथा लेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका छन् ।
यसअघि हिजो आन्दोलनरत नेकपामा दाहाल–नेपाल समूहले पनि मानव साङ्लो बनाएर टुंडिखेल घेराउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्