
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप भएको छ । पार्टीले १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
हिजो बसेको केन्द्रीय समितिको बैठकले १४ औं महाधिवेशनको कार्यतालिका तय गरेको हो । बैठकले यसअघि तय भएको तल्ला तहको अधिवेशनको कार्यतालिका केही फेरबदल गरेको र केन्द्रीय महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
कांग्रेसले महाधिवेशन अघि क्रियाशील सदस्यहरुको विवरण तयार गर्न केन्द्रीय क्रियाशील सदस्यता छानविन समिति गठन गरेको छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ सदस्य रहेको समिति गठन गरेको हो ।
यसैबीच महाधिवेशनको मिति तोकेसँगै कांग्रेसका शीर्ष नेताहरु देश दौडाहमा लागेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश १ र २ का तराईका जिल्लाको भ्रमणमा जानुभएको छ । नेता पौडेलले यही फागुन १३ गतेसम्म विभिन्न क्षेत्रमा हुने कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
नेता पौडेल आज सुनसरीको धरानमा हुने कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिभा विघटन गरेपछि नेता पौडेल सक्रिय हुनुभएको छ । उहाँकै दवावमा कांग्र्रे संसद विघटन विरुद्ध सडक आन्दोलन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्