
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रत्येक दिन राष्ट्रिय गान गाएर काम सुरु गरिन्छ । समयमै सरकारी कार्यालयमा कर्मचारी उपस्थित नहुने गुनासाहरु आइरहेको समयमा सिन्धुलीमा भने १० बजे ठ्याक्कै राष्ट्रिय गान बज्ने भएकाले समयमै सबै कर्मचारी आउने गर्दछन् ।
‘१० बजे अगाडि हामी कार्यालय पुगिसक्छौं’, प्रशासकीय अधिकृत भीम बहादुर बस्नेतले भन्नुभयो, ‘१० बजेर ५ मिनेटमा राष्ट्रिय गान बज्छ ।’ राष्ट्रिय गान बज्दा कर्मचारी मात्रै हैन सेवाग्राही पनि उठेर सम्मान व्यक्त गर्दछन् ।
कार्यायल आउनासाथ राष्ट्रिय गान बज्नाले राष्ट्रियताको भावना विकास हुने, काम गर्ने जोस जाँगर आउने र देशप्रति सम्मान जाग्ने अधिकृत बस्नेतले बताउनुभयो । राष्ट्रिय गान बज्छ भनेर पनि हतार हतार कर्मचारी कार्यालय आउने गरेको उहाँले सुनाउनुभयो । विशेष दिनमा कार्यालय बाहिर भेला भएर राष्ट्रिय गान एकैपटक गाउने गरेपनि अन्य समयमा भने आफ्नो कार्यकक्षमै उठेर राष्ट्रिय गानको सम्मान गर्ने गरिएको छ ।
साथै प्रशासनले सेवाग्राहीको गुनासोलाई सम्मान गर्दै टोकन प्रणाली लागू गरेको छ । सेवाग्राहीले पालो मिच्यो भन्ने गुनासो आएपछि टोकन प्रणाली लागू गरिएको र माइकबाट सेवाग्राहीलाई बोलाउने व्यवस्था गरिएको अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
अधिकृत बस्नेतका अनुसार भीडभाड र लाइन राख्नु भन्दा टोकन प्रणाली लागू गर्दा सेवाग्राहीले आराम पनि पाउने र काम पनि छिट्टो हुने गर्दछ । त्यसका लागि प्रशासनले ४ वटा माइकको व्यवस्था गरेको छ । माइकबाट नाम बोलाएपछि पालैपालो सेवाग्राही सेवा लिन आउने गर्दछन् ।
यसैगरी प्रशासनले सेवाग्राहीले विभिन्न सेवा लिए वापत राजस्व बैकमा बुझाउनुपर्ने समस्यालाई ध्यानमा राख्दै राष्ट्रिय वाणिज्य बैकको काउन्टर पनि प्रशासनभित्रै व्यवस्था गरेको छ । त्यस्तै हुलाक टिकटमा सर्वसाधारणलाई ठग्ने र हुलाक कार्यालय टाढा भएकाले सेवाग्राहीलाई समस्या भएको गुनासो आएपछि एक हुलाकका कर्मचारीलाई प्रशासन कार्यालयमा नै बस्ने व्यवस्था गरिएको छ ।
यसैगरी द्रुतगतिमा पासपोर्टको सिफारिस लिनका लागि बाहिर फाराम भर्नुपर्ने झन्झटिलो प्रक्रियालाई हटाएर प्रशासनले फाराम भर्न आफ्ना कर्मचारी खटाएको छ । जसका कारण धेरैलाई राहत पुगेको सेवाग्राही बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्