१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गल्वान झडपमा चार जना चिनियाँ सैनिकको मृत्यु भएको खुलासा


0
Shares

काठमाडौं । गत वर्ष जुनमा भारत र चीनको सीमामा भएको झडपमा चार जना चिनियाँ सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले दावी गरेका छन् ।

चीन सरकारले उक्त झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको हो ।

चेन होङजुन, चेन सियाङरोङ, सिआओ सियुआन र वाङ चौरानले सहमति तोडेर सीमा अतिक्रमण गरेका विदेशी सेनासँगको झडपमा ज्यान गुमाएकाले मरणोपरान्त सम्मान गरिएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले त्यसबारे औपचारिक जानकारी भने दिएको थिएन ।

त्यसपछि दुवै देशले सीमामा तनाव मत्थर पार्न प्रयास गरेका थिए । तर फेरि पनि गत जनवरीमा दुई देशका सेनाबीच सामान्य झडप हुँदा दुवै पक्षका २४ जना घाइते भएका थिए ।

पटक पटकको वार्तापछि पछिल्लो समय सहमतिमा पुगेपछि भारत र चीनले लद्दाखको पान्गोङ त्सो क्षेत्रबाट सेना र ट्यांकलगायत अन्य सैनिक उपकरणहरू फिर्ता गरेका छन् । भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन । सीमा विवाद भएपछि यसअघि सन् १९६२ मा पनि भारत र चीनबीच युद्ध भएको थियो ।