
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताउनुभएको छ ।
शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताउनुभयो । फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उहाँको भनाइ छ ।
निर्वाचन सामाग्रीहरूको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उहाँले बाह्य रूपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरूको खरिद योजना तयार गरिएको बताउनुभएको छ । निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताउनुभयो ।
हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत: सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरू तयार गरी अगाडि बढिरहेका छौं ।’
निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनुहुँदैन र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधै अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभयो । आगामी निर्वाचनलाई मितव्ययी बनाउन आयोग सचेत रहेको उहाँको भनाइ छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मुल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भइ आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्