१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम सरकारको तीन वर्षः योजना गौरवका, कार्यान्वयन फितलो


0
Shares

विराज रोस्यारा
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षको अवधिमा गरेका कामप्रति यहाँका नागरिकलगायत बुद्धिजिवी, अधिकारकर्मी तथा सांसद असन्तुष्ट छन् । प्रदेश सरकारप्रति नागरिकको अपेक्षा बढी भए पनि त्यस अनुसारको उपलब्धि हासिल हुन नसकेको उनीहरूको गुनासो छ ।

प्रदेश सरकार सञ्चालनको तीन वर्षमा जनअपेक्षा भन्दा पनि व्यक्तिगत स्वार्थ र सुविधा बिताएको उनीहरूले आरोप लगाएका छन् । प्रदेशमा तीन वर्षको अवधिमा उत्साहजनक काम भएका छैनन् भने सस्तो लोकप्रियताका लागि गौरवका थुप्रै योजनाहरू सार्वजनिक भए पनि कार्यान्वयन फितलो देखिएको छ ।

विकास निर्माणलाई तीव्रता दिनुभन्दा सरकारले भ्रष्टाचार र अनियमिता बढाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डिल्ली पन्तको आरोप छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने कुनै पनि काम सरकारले गर्न नसकेको उहाँको भनाइ छ ।

प्रतिपक्षी दलमात्र होइन सत्ता पक्षकै सांसदहरूले पनि सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । बितेको तीन वर्षमा सरकार मात्रै होइन संसदले पनि गति पाउन सकेको छैन । पर्याप्त विधेयक नहुँदा संसद् पनि सुस्त भएको नेकपाका प्रदेश सभा सदस्य बीरभान चौधरीको भनाइ छ ।

मुख्यमन्त्रीले नेतृत्व लिन नसक्दा सरकार र सदनको काम प्रभावकारी हुन नसकेको नेकपा ओली समूहका प्रदेश सभा सदस्य महेशदत्त जोशीको आरोप छ । प्रदेश सरकार गठन भएको तीन वर्ष पुगे पनि केही महत्वपूर्ण र ठूला योजनाहरूको काम अझै सुरु हुन नसकेको उहाँ बताउनुहुन्छ ।

प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लामा प्रदेश गौरवका सडक बनाउने लक्ष्य राखे पनि काम सुरु हुन सकेको छैन । सरकारले भने पूर्वाधार विकाससँगै कानुन निर्माणमा पनि सन्तोषजनक प्रगति भएको बताउँदै आएको छ ।

सडक, पर्यटन र कृषि क्षेत्रमा पनि महत्वपूर्ण कामहरू भएको मुख्यमन्त्री त्रिलोचन भट्टको दावी छ । सुदूरपश्चिम प्रदेश सरकारले यो अवधिमा चार पटक बजेट प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रम र बजेटमा समेटिएका धेरै योजनाहरु ओझेलमा छन् ।