२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

रिसोर्टदेखि डिलक्ससम्मका होटललाई अब ‘स्टार’ मान्यता, गेटको बोर्डमै स्टार टाँसिने


0
Shares

काठमाडौं । सरकारले बुटिक र डिलक्स होटललाई समेत तारे ‘स्टार’ होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेको हो ।

यसअघि विभागले सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गरेको थियो । साथै डिलक्स र बुटिक होटलको स्पष्ट मापदण्ड थिएन । विभागले सबैस्तरका रिसोर्ट, तारेस्तरका होटल तथा सबैस्तरका बुटिक होटलका सम्बन्धमा सङ्केत चिन्हको रूपमा तारा चिन्ह निर्धारण गरेको छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले तारे होटलसम्बन्धी नयाँ मापदण्डले होटलको स्तरीकरणका साथै होटलको सेवा सहज ढङ्गले प्राप्त गर्न ग्राहकलाई पनि सहज हुने जानकारी दिनुभयो ।

विभागका अनुसार सबै तहका होटल तथा रिर्सोटले आफ्नो पहिचान दिने सङ्केत चिन्ह अनुसारको साइनबोर्ड होटलको गेटमै राख्नु पर्नेछ । यसबाहेक हानसँग सम्बन्धित संघ संस्थामध्ये आफू कुन सङ्घमा आवद्ध भएको हो, आवद्धता रहेको सङ्घको समेत चिन्ह बोर्डमै राख्नुपर्ने गरी विभागबाट निर्णय भएको छ ।

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नु पर्नेछ । त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ । रिर्सोटतर्फ साधारण रिर्सोटले तीन तारे स्तरको मान्यता पाएको छ ।

साविकमा पर्यटन विभाग र मातहतका कार्यालयबाट पर्यटक स्तरको होटलको स्तर वर्गिकरण भएका र अहिले प्रदेश सरकारको निकायबाट यस स्तरको होटेलमा वर्गिकरण भएका सबै होटलले गोलाकार भित्र रातो रङगमा (टीएस) लेखेको चिन्हलाई होटलको सङ्केत चिन्हका रूपमा प्रयोग गर्नुपर्ने विभागले जनाएको छ ।