८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


झाँक्रीले प्रधानमन्त्री विरुद्ध उजूरी देलिन् ?


0
Shares

दुर्गा आचार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगर पुगेर अदालतका साथसाथै नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीका विरुद्ध विवादास्पद टिप्पणी गरे पछि त्यसको व्यापक आलोचना भएको छ ।

दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग जोडेर झाक्रीका बारेमा प्रधानमन्त्रीले विवादास्पद टिप्पणी गर्नुभएको थियो । विभिन्न व्यक्ति तथा महिलावादी संघ संस्थाहरुले प्रधानमन्त्रीले व्यक्तिगत रुपमा झाँक्रीको आलोचना तथा मानमर्दन गरेको भन्दै विरोध जनाएका छन् । उहाँले बोलेका कुराहरुको सामाजिक सञ्जालमासमेत विरोध भएको छ ।

शनिबार विराटनगर पुगेर ओलीले दाहालको खुबै माया लाग्ने भन्दै उहाँलाई झाँक्रीले राजनीतिक रुपमा पार लगाउन नसक्ने अभिव्यक्ति दिनुभएको थियो । दाहाल प्रति कटाक्ष गर्दै वैद्य, डाक्टर पछि झाँक्रीको साथ मिलेको बताए पनि झाँक्रीले दाहाललाई पार लगाउन नसक्ने प्रधानमन्त्रीको टिप्पणी थियो । ”प्रचण्डजीको त मलाई यसो माया लाग्छ पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो वैद्यले उहाँलाई छोड्नुभो, त्यसपछि उहाँले डाक्टर लिनुभो, डाक्टरले पनि उहाँलाई छोड्नुभो, अहिले उहाँले झाँक्रीलाई लिनुभाछ, तर उहाँलाई झाँक्रीले बचाउन सक्दैन्” प्रधानमन्त्रीको टिप्पणी छ ।

यसअघि नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा व्यक्तिगत रुपमा अभिव्यक्ति दिएको भन्दै प्रहरी हिरासतमा पुग्नु परेको थियो । झाक्रीले भण्डारीलाई सेतो साडीको आडमा राजनीतिक गरेको भन्दै खुल्ला राजनीतिमा आउन चुनौती दिनु भएको थियो । उहाँले भण्डारीलाई शितल निवासबाट निस्केर बालकोट गएर बस्न भन्नु भएको थियो । बालकोटमा प्रधानमन्त्री ओलीको घर छ । यसरी भण्डारीको मानमर्दन गरेको भन्दै नेकपाको अखिल नेपाल महिला (अनेम) संघले झाक्रीलाई गिरफ्तार गरेर कारवाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका थिए ।

झाक्रीकै सिको गर्दै देशका प्रधानमन्त्रीले झाँक्रीको आलोचना गरेपछि अब अनेमसंघ लगायत संघ संस्थाले के गर्छन हेर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन गरेको भन्दै पक्राउ गर्न दबाब दिने प्रधानमन्त्रीले अर्की महिला नेतृमाथि गरेको भद्दा टिप्पणीले मानमर्दन भयो कि भएन भन्ने प्रश्न उब्जिएको छ ? तर महिलाकै रुपमा मानमर्दन भएको मान्ने हो भने प्रधानमन्त्री विरुद्ध झाक्रीले पनि मानमर्दन गरेको उजुरी गर्न सक्नुहुनेछ । झाँक्रीले प्रधानमन्त्री विरुद्ध उजूरी गर्नुहुन्छ कि गर्नुहुन्न सबैको चासोको विषय बनेको छ । तर झाँक्रीले यसबारेमा अहिलेसम्म कुनै टिप्पणी गर्नु भएको छैन् । झाँक्रीले यदि उजूरी दिनुभयो भने झाक्रीलाई पक्राउ गर्न दबाब दिने प्रधानमन्त्रीलाई प्रहरीले गिरफ्तार गर्ला कि नगर्ला ?

पछिल्लो समय नेताहरुको भाषणमा तल्लो स्तरको गाली गलौज बढी सुनिन थालेको छ । नेकपा विभाजित भएपछि नेकपाका नेताहरु नै एक अर्काप्रति लज्जास्पद टिप्पणीहरु गर्छन् जो सर्वसाधारणलाई सुन्न पनि लाज लाग्छ । प्रधानमन्त्रीले झाक्रीमाथि गरेको टिप्पणी त्यस्तै एउटा उदाहरण हो । तर देशको कार्यकारी प्रमुख भएर एक जना महिला नेतृका बारेमा विवादास्पद टिप्पणी गर्न प्रधानमन्त्रीलाई कति पो सुहाउँला ?