१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


संवैधानिक निकाय र नागरिकलाई नथर्काउन ओलीलाई शेखरको चेतावनी


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवैधानिक निकाय र नागरिकलाई नथर्काउन चेतावनी दिनुभएको छ ।

मोरङको सुन्दरहरैचामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार निर्वाचन आयोगलाई सुर्य दिनुपर्ने भन्दै थर्काउनु भएको थियो भने शनिबार विराटनगरमा सर्वोच्च अदालतलाई संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जान्छौं भन्दै थर्काउनु भएको थियो ।

‘प्रधानमन्त्री ओलीले सुर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ’, कोइरालाले भन्नुभयो, ‘जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’ यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराउनु भएको छ पुष्टि हुन्छ उहाँले भन्नुभयो । आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको उहाँको टिप्पणी छ ।

डा कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको बताउनुभयोे । राष्ट्रपति र प्रधानमन्त्रीलाई केही भनेमा घरमै प्रहरी आउने कानुन निर्माणमा सरकार लागेको आरोप लगाउँदै कोइरालाले बोल्न पाउने अधिकार समाप्त पार्ने खेलमा सरकार लागेको बताउनुभयो । आफूले थर्काएर नपुगेर साइबर सेनाको सहाराले नागरिकहरुलाई डराउने ,धम्क्याउने, तर्साउने काममा सरकार आफै लागेको कोइरालाको आरोप छ ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी विप्लवका केन्द्रीय सदस्य थानेश्वर दाहाल र पूर्व एमालेको जिल्ला कमिटि सदस्य थानेश्वर भट्टराईसहित २ सय ७६ जना अन्य पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका छन् ।