१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किराहरू ……..


39
Shares

✍️ शर्मिला तिमल्सिना

डर लाग्दो गरी भुन्भुनाउने
चुसेपछि रन्थन्याउने
भँवरा भनाउँदाहरू हो
रस चुस्ने बहानामा
फूलको जीवन नै चुँड्ने
तिमीहरू किरा हौ
ठुस्स गन्हाउने किरा ।

भेडाका खोलमा ब्वाँसा हौ
मानव जुनीमा तिमीहरू
कलङ्कको काला ध्वाँसा हौ
विद्यालय जान हिँडेकी
कलिला बालिका छाडेनौ
गोठमा घाँस हाल्न गएकी
किशोरी छोडेनौ
एउटा रुपमा देखिन्छौ
अर्को रुपमा खनिन्छौ
त्यसैले त तिमी
अधममा गनिन्छौ
हिंस्रक जनावरजस्तै
लुकाएको दाह्रा देखाउँछौ
तिखा नङ्ग्रा उध्याउँछौ
र मौका पाउना साथ
कर्याप्प पारेर
चङ्गुलमा लिन्छौ
निरीह र अबला
कोपिला रूपी
बालिका र किशोरीमाथि
निरन्तर आघात गर्छौ
र कस्तो तृप्ति पाउँछौ ?
बलिरहेको दियो
झ्याप्प निभाउँदा ।

के यो खुला आकासमा
चराहरू स्वतन्त्र उड्न पाइँदैन ?
के यो विशाल धर्तीमा
मुनाहरू निर्धक्क टुसाउन पाइँदैन ?
यी बाजहरूको झम्टामात्र किन ?
मुना निमोठ्ने चिम्टामात्र किन ?

यदि यस्तै हो भने
तिम्रा दाह्राहरू नझार्ने किन ?
बङ्गाराहरू नफुस्काउने किन ?
तिमीले घमण्ड गर्ने
पुरुषत्वको चिनोलाई
फेरि कहिल्यै नपलाउने गरी
नचिमोट्ने किन ?
अब फूलहरू पनि
सूलहरू बन्दैछन्
ए हिराका नामधारी किराहरू
सावधान !