१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओली समूहका केन्द्रीय सदस्यको गाडी दाहाल-नेपाल समूहद्धारा तोडफोड


0
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकमा नेकपा ओली समूहका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ ।

चौरीदेउराली गाउँपालिकामा संगठन विस्तार गर्न गएका ओली समूहका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो ।

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङलगायतको १६ जनाको टोली बास बसेको थियो ।

उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताउनु भयो ।

उहाँका अनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल–नेपाल समूहका नेताले धम्की दिइरहेका थिए ।