५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


पूर्ण रूपमा सीमा नाका खोल्न व्यवसायीको माग, भन्छन्, ‘अब पनि नखोले उठ्न सकिँदैन’


0
Shares

दीपक घिमिरे
रुपन्देही । भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै व्यवसायीले सीमा खोल्न नाकामा धर्ना दिँदै आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको र अन्य क्षेत्र पूर्ववत अवस्थामा आइसक्दा पनि नेपाल भारत सीमा नाका बेलहियासहित अन्य नाकाहरू पूर्ण रूपमा खुलेका छैनन् ।

२०७६ चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न बन्द भएको देशकै सबैभन्दा महत्वपूर्ण सीमा नाका मध्येका एक बेलहिया–सुनौली सीमा नाका बन्द छ । महिनौंदेखि बन्द नाकाहरू तत्काल खुल्ला गर्न माग गर्दै पर्यटन व्यवसायी तथा सरोकारवाला संघ–संस्थाले बेलहिया नाकामा धर्ना दिँदै आएका छन् ।

नाका बन्द हुँदा पर्यटकको संख्यामा कमि त भएको छ नै, भारत तथा भारतको बाटो भएर तेस्रो मुलुकबाट आउने सामानहरू आयातमा गर्न सकिएको छैन । जसका कारण व्यवसायनै धरापमा परेको व्यवसायीहरूको गुनासो छ । नाकालाई पूर्ववत अवस्थामा ल्याउनुपर्ने, दुवै देशबाट सहज रूपमा आवतजावतको व्यवस्था गर्नुपर्ने पर्यटन व्यवसायी सञ्जय बजिमय बताउनुहुन्छ ।

‘भारतीय पर्यटक नै हाम्रो कमाइको मुख्य आधार हुन्,’ उहाँले भन्नुहुन्छ, ‘नेपाली व्यवसायीलाई बचाउन नाका र अध्यागमन तत्कालका लाागि खोल्नुपर्छ ।’

नाका नखोलिँदा दुवै देशका नागरिकलाई समस्या भएको र व्यवसाय समेत खस्केको व्यवसायीहरूको गुनासो छ । दुई महिना अघिदेखि सीमा आंशिक रूपमा खुल्ला भए पनि सर्वसाधारणले सहज आवागमन पाएका छैनन् । सरकारले नाका खोल्ने निर्णय गरेको भए पनि त्यो व्यवहारमा लागू नभएको व्यवसायी गोविन्द ज्ञवालीको दुखेसो छ ।

उहाँ भननुहुन्छ, ‘केन्द्रमा नाका खोलियो भनेर प्रचार गर्ने अनि नाका नखोल्दा पर्यटकहरूदे दुःख पाएका छन् ।’ केन्द्रबाट भएको प्रचारका कारण धेरै पर्यटकहरू नाकामा आएर फर्कने गरेको उहाँको भनाइ छ ।

धर्नामा सीमावर्ती भारतीय क्षेत्रका व्यावसायिक संघ–संस्थाहरूले पनि ऐक्बद्धता जनाएका छन् । उत्तरप्रदेशको नव व्यापार मण्डलका अध्यक्ष संसाद खानले आफूहरु नेपाली व्यापारीहरुसँग सहकार्य गर्नका लागि तयार भएको बताउनुहुन्छ । पर्यटक बोकेर आउने सवारीलाई नेपाल प्रवेश गर्न नदिँदा गोरखपुर र भैरहवा दुवैतर्फका व्यापारीहरुलाई समस्या भएको उहाँको भनाइ छ ।

पर्यटन क्षेत्र पूर्ण रूपमा खुल्दा पनि स्थलमार्गबाट निजी सवारीसाधन आवतजावत गर्न अझै रोकिनु, नाकाबाट पैदल यात्रुलाई असहज गराइनुले समस्या बढ्दै गएको छ । सुरक्षा सावधानी, मापदण्ड र कार्यविधि अपनाइ भारतसँग जोडिएका सीमा नाकाहरूलाई अविलम्ब पुनः सञ्चालन गरी भारतीय पर्यटकहरू सहज रूपमा नेपाल आउने वातावरण बनाउन पर्यटन व्यवसायीले माग गरेका छन् ।

रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष नारायणप्रसाद भण्डारी कोरोनाले थला परेको पर्यटन व्यवसायलाई उकास्नका लागि भारतीय लगायत सबै देशका पर्यटकहरूका लागि नेपाललाई खुल्ला गर्नुको विकल्प नभएको बताउनुहुन्छ । अब पनि पर्यटकहरूका लागि नाका खुल्ला नगर्ने हो भने व्यवसाय उठ्न नसक्ने उहाँको भनाइ छ ।

नाका पूर्ण रूपमा नखोलिँदा कयौं होटल प्रतिष्ठानहरू बन्द भई पलायनको क्रममा रहेको, लामो समयको लकडाउनपछि सञ्चालनमा आएका होटलहरु पुनः बन्द हुने अवस्था सिर्जना भएको र खर्बौं लगानी जोखिममा परेको व्यवसायीको गुनासो छ ।