१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलापछि नयाँ पार्टी खोल्दै मन्त्री त्रिपाठी, अन्य दलका सांसदहरू पनि आउने


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको छ ।

२०७४ को निर्वाचन अघिसम्म तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालमा रहनु भएका त्रिपाठीले सूर्य चिन्हबाट निर्वाचनमा सहमागी हुनुभएको थियो । सूर्य चिन्हबाट चुनाव जिते पनि आफूलाई स्वतन्त्र सांसदको रूपमा चिनाउँदै आउनुभएका त्रिपाठीले फागुनभित्रै नयाँ दल दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ ।

२०७४ साल बैशाख ६ गते मधेश केन्द्रीत ५ वटा दलहरूबीच एकता भएर राजपा गठन भएसँगै असन्तुष्ट बनेका तत्कालीन तमलोपाका सहअध्यक्ष हृद्येश त्रिपाठीले आफूलाई स्वतन्त्र राजनीतिक समूहका रूपमा चिनाउँदै आउनुभएको छ । पछिल्लो समय ओली सरकारको स्वास्थ्यमन्त्री रहनु भएका त्रिपाठीले नयाँ दल खोल्नका लागि विभिन्न व्यक्ति तथा समूहहरूसँग छलफललाई तीव्रता दिनुभएको छ ।

मन्त्री त्रिपाठी तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र अन्य दलहरूभित्र रहेका असन्तुष्ट मधेशी नेताहरू समेटेर नयाँ दल खोल्ने तयारीमा लाग्नुभएको हो । अहिले देखिएका राजनीतिक दलहरू भन्दा फरक देखिने गरी त्रिपाठीले किसान तथा साना व्यवसायीको हकहितलाई जोड दिने गरी दल खोल्न लागेको बताइएको छ ।

आफ्नो पहलप्रति धेरै जनताको चासो रहेको भन्दै मन्त्री त्रिपाठीले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला पर्खिएका कारण नयाँ दलको गठनमा केही ढिलाइ भएको बताउनुभयो । आफ्नै पार्टीबाट धोका खानुपर्दा बाध्य भएर तत्कालीन एमालेको चुनाव चिन्हबाट चुनाव लडे पनि अब नयाँ मूल्य मान्यताका साथ चुनाव लड्ने उहाँको भनाइ छ ।

‘सर्वोच्च अदालतको फैसला भएपछि अहिलेसम्म खुल्न नचाहेका सांसद् र नेताहरू पनि खुल्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि पार्टी निर्माणको प्रक्रियालाई अघि बढाउँछौं ।’ आफूले निर्माण गर्ने राजनीतिक दलमा तत्कालीन तमलोपाका ८० प्रतिशतभन्दा धेरै कार्यकर्ता आउने उहाँको विश्वास छ । अबको निर्वाचनमा आफ्नै पार्टीबाट निर्वाचनमा सहमागी हुने मन्त्री त्रिपाठीले बताउनुभयो ।

त्यसो त २०७४ को निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव जित्नेमा तत्कालीन एमाले भन्दा बाहिरका २ जना सांसद प्रतिनिधिसभामा रहेका थिए भने प्रदेशसभामा ३ जना रहेका छन् । त्रिपाठी उनीहरूसहित तत्कालीन राजपाका नेता तथा कार्यकर्ताहरूलाई समेट्ने कोसिसमा रहेको बुझिएको छ ।