
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ ।
पीडित परिवारलाई पाँच लाख राहत दिनका लागि गाउँकार्यपालिका बैठकले निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।
भागरथीको गत माघ २१ गते स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
यसअघि भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट भागरथीका परिवारलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस बाजुराले पनि पीडित परिवारलाई ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्