
बिवेक भण्डारी
नवलपुर । पहाडमा मात्र प्याराग्लाइडिङ्ग सम्भव छ भन्ने कुरालाई तोड्दै नवलपुरका युवाहरूले पहिलो पटक तराईमा प्याराग्लाइडिङ्गको सफल परीक्षण गरेका छन् । समुन्द्र सतहदेखि ९ सय मिटर उचाइमा रहेको बालुवाडाँडाबाट प्याराग्लाइडिङ्गका सफल उडान गरिएको बालुवाडाँडा पर्यटन युवा सञ्जालका अध्यक्ष उमेश रानाले जानकारी दिनुभयो ।
९ सय मिटर उचाइबाट उडान गरेर २ सय मिटर उचाइको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ्ग ल्याण्ड गरिएको छ । पोखरा पछि नवलपुरमा प्याराग्लाइडिङ्गको सम्भावना रहेको उडानले प्रमाणित गरेको छ । नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर यहाँका युवाहरूले पर्यटकीय गतिविधि बढाउन प्याराग्लाइडिङ्ग परीक्षण गरेका हुन् ।
बालुवाडाँडा पर्यटन युवा सञ्जालले जिल्लामा पर्यटकीय गतिविधि बढाउन र युवाहरूलाई पर्यटनतर्फ प्रेरित गर्न स्थानीय युवा सञ्जाल गठन गरी प्याराग्लाइडिङ्ग योजना ल्याएको हो । यसको सफल परीक्षणपछि नवलपुरलाई पर्यटकीय हबको रूपमा विकास गर्ने सोच सञ्जालका सदस्य उमेश रानाले जानकारी दिनुभयो ।

परीक्षण उडानका लागि पोखरामा रहेको क्लाउड बेस प्याराग्लाइडिङ्ग प्रा.लि र पिस हिमालयन प्याराग्लाइडिङ्ग प्रालिले समन्वय गरेका हुन् । प्याराग्लाइडिङ्गका क्याप्टेन पाइलट हरि पहारीले कावासोती नगरपालिका– १ को बालुवाडाँडा क्षेत्र प्याराग्लाइडिङ्गका लागि अत्यन्त सम्भावना बोकेको र प्राकृतिक र प्राविधिक रूपमा समेत उपयुक्त स्थान भएको बताउनुभयो ।
युवाले ल्याएको पर्यटन विकासको योजनालाई स्थानीय तहले पनि स्वागत गरेको छ । नगरपालिकाले युवाहरूले ल्याएको पर्यटन विकासको योजनालाई सहयोग गर्ने र कावासोती नगरपालिकासँगै जिल्लालाई नै चिनाउन स्थानीय सरकारले सहयोग र सहकार्य गर्ने नगर उपप्रमुख प्रेमशंकर मर्दनीयाले बताउनुभयो ।
नवलपुरको आकाशमा प्याराग्लाइडिङ्ग उडान भरेको हेर्न बालुवाडाँडामा युवाहरूको भिड लागेको थियो । परीक्षण उडान भए पनि यहाँका धेरैजसो पर्यटन व्यवसायीहरूले बालुवाडाँडाबाट नियमित उडान गर्नु पर्ने माग गरेका थिए । प्याराग्लाइडिङ्ग गर्न पाउँदा स्थानीयसमेत हर्षित देखिन्थे । नवलपुरको पर्यटन विकासलाई गति दिन प्याराग्लाइडिङ्ग महत्वपूर्ण रहेकाले स्थानीय सरकारले समेत यसमा सहयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्