
नरेन्द्र मानन्धर
काठमाडौं । लिच्छवीकाललाई नेपालको स्वर्णकालको रूपमा लिइएको छ । लिच्छवीकालीन नेपालमा आर्थिक, सामाजिक, धार्मिक लगायत हरेक क्षेत्र विकसित थिए । जसको गौरव र भव्यताको वखान विदेशी यात्रीहरूले समेत मुक्क्तकण्ठले गरेको पाइन्छ । तिनै वैभव मध्ये एक कैलाशकुट भवन पनि थियो । तर, उक्त वैभव इतिहासको गर्भमा पुरिएर रहेको छ ।
लिच्छवीकालीन कैलाशकुट भवन, चिनियाँ यात्रीहरूको यात्रा वृत्तान्तमा अंशुवर्माले निर्माण गरेको भवन ७ तल्ले रहेको र सुनौलो मकरको मुखबाट कलात्मक रूपमा पानी झरिरहेको उल्लेख छ । विभिन्न रत्न जडिजडाउ भवन चन्द्रमाको किरण पर्दा झलमल भएका हिमालको चुचुरा जस्तै देखिन वर्णन गरिएको छ ।
तामाको झिगंटी सात तल्ले बूर्जा, बार्दली, दलिन, खम्बामा बहुमुल्य रत्न र बैठक कोठाहरूमा मुगा रत्नहरूले सजाइएको थियो । कैलाश जस्तो भव्य प्यागोडा शैलीको भवन हाल इतिहासको गर्भभित्र लुकेर बसेको छ । यो भवन कहाँ अवस्थित थियो भनेर एकीन गर्न सकिएको छैन । यस विषयमा विभिन्न समयमा अनुसन्धान पनि भएको हो । तर तथ्य पत्ता लाग्न सकेको छैन ।
प्राप्त पुरातात्विक वस्तु र शिलालेखको आधारमा यो भवन काठमाडौंको हाँडीगाउँ र मालीगाउँतिर हुन सक्ने विज्ञहरूको अनुमान छ । संपदाविद् प्रा.डा सुर्दशनराज तिवारीका अनुसार यो भवन हाँडीगाउँ क्षेत्रमा पर्छ ।
गहना पोखरीको दक्षिण क्षेत्र, मनमानेश्वर मन्दिरको पूर्वमा यो भवन रहेको उहाँको अनुमान छ । इतिहासमा गरिएकोे वर्णनअनुसार हाल यहाँ मानगृह द्धार, पश्चिम द्धार र मध्यम द्धार यही क्षेत्रमा रहेको छ उहाँको दावी छ ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालका अनुसार पनि यही क्षेत्रमा कैलाशकुट भवन रहेको अनुमान छ । उहाँका अनुसार केहीले हाँडीगाउँ, मालीगाउँसँगै गोकर्णमा पर्छ भन्ने पनि छन् । यी क्षेत्रहरूमा नयाँ भौतिक संरचना बनिसकेकाले पुरातात्विक उत्खनन् र अनुसन्धान गर्न गाह्रो भएको बताउनुहुन्छ । तर पनि सरकारले कैलाशकुट भवन पत्ता लगाउन सुक्ष्मरूपमा अनुसन्धान हुनुपर्ने बताउनु हुन्छ ।
अंशुवर्मन लेखेको ई्ंटा र लिच्छवीकालिन अभिलेखहरू पनि यस क्षेत्रबाट प्राप्त भएको थियो । दाहाल आधुनिक प्रविधिको प्रयोग गरेर भवनको खोजी भएकोमा हाँडीगाउँ क्षेत्रमा पुरातात्विक महत्वका पर्खाल, ईटा र संरचनाहरू पाएको र थप अनुसन्धानहरू आवश्यक रहेको बताउनुहुन्छ ।
१५ सय वर्षअघि निमार्ण भएको मानिएको यो भवनको भग्नावशेषका रूपमा रहेको अस्तित्वको खोजी गर्न सके नेपालको इतिहासले नयाँ मोड लिने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्