
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिनुभएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबार स्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिदै उहाँले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताउनुभएको हो ।
उहाँले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्ग निर्देश गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सर्वोच्चको आजको फैसलाले एउटा नयाँ आयाम खडा भएको छ, लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा पनि महत्वपुर्ण भूमिका खेलेको छ,’ उहाँले भन्नुभयो, ‘फैसलाको प्रारम्भिक अध्ययन गर्दा राज्यका महत्वपूर्ण अंगहरूको शक्ति पृथकीकरण र भूमिकाको बारेमा स्पष्ट मार्ग निर्देशन गरेको छ ।’
पुस ५ गतेदेखि आजको दिनसम्म बहसकोबीचबाट अदालतले संविधानको रक्षा मात्रै नभइ विकास र समृद्धिका साथै कार्यान्वयन गर्नका लागि आधार खडा गरेको सभामुख सापकोटाको भनाइ छ ।
सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्