
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिनुभएको छ ।
प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले असंवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताउनुभएको हो । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले लिनुपर्ने पनि बताउनुभयो । उहाँसँग गरिएको अन्तर्वार्ता–
प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?
सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनःस्थापित गरेको छ ।
फैसलाले स्वेच्छाचारी तरिकाले मनपरी जे मनलाग्यो त्यही गर्दै हिँडन पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो फैसला नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ ।
प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससँग सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधिसभा मात्रै पुनःस्थापित होइन अरु धेरै कामहरू पनि असंवैधानिक भएकाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भन्न रुचाउँछु ।
मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टी भित्रको राजनीति सबै खलबलिएको थियो । अब कोर्स कताबाट सुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट सुरु हुन्छ ?
पार्टी एकताको निम्ति शुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त बिभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो । पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ ।
पार्टी फुटाउने काम प्रचण्ड माधवहरूको हो भनेर यतातिर भनेको छ अनि ‘साइड बाई साइड’ पार्टी फुटाउने बामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरूलाई लगाउने ?
आफैँ गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरू हिँडनुभएको छ ।
पुनस्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनस्थापित गर्नुपर्छ । यद्यपिसर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टी भित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरूले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।
पार्र्टी एकताका लागि पहिलो स्टेप कहाँबाट कस्तो हुनुपर्छ ?
जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट सुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ । केपी ओलीले चाल्नुभएको कदम गलत र असंवैधानिक सावित भएको छ । यस्तो अवस्थामा फेरि पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो ।
पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भन्नेहरूले एकताको पहिलो कदम चाल्नुपर्छ । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइन । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ, सबै साथीहरू एकजुट हुनुपर्छ भन्नुको साटो मैले बनाएको पार्टीमा आउनुहोस भन्दै हिड्नुहुन्छ । जित उहाँहरूको भएका कारण प्रचण्ड र माधवकुमार नेपालले जिम्मेवारी लिएर पार्टी एकता गर्नुपर्छ ।
अब तपाईं के गर्नुहुन्छ ?
मैले औपचारिक र अनौपचारिक रूपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुई अध्यक्ष र महासचिवलाई पार्टी एकताका लागि पहल गर्न आग्रह गर्छु । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ ।
मैले यस्तो गरेँ त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन ।
त्यसकारण हामीले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथिहरू जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्छौं ।
सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठछ की उठदैन ?
नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठदो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठदो रहेनछ । तर, म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ ।
त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपथ्र्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपथ्र्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन ।
म फेरि पनि सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आह्वान गर्नुहोस् । मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु त्यसै बापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्