
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाहाल–नेपाल समूहले गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताउनुभएको छ ।
बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले दाहाल–नेपाल समूहको जितको परिणाम गैर कम्युनिष्ट नेतृत्वको सरकारको लागि भिख माग्दै हिँडेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरूले हामी एक्लैले केही गर्न सक्दैनौं राष्ट्रिय सहमति खोज्छौं भन्नुभएको छ । एकातिर कुरा गर्नुहुन्छ, प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नेकुरा गर्नुहुन्छ । उहाँहरुले जितेको जितको परिणाम के हो त भन्दाखेरी कम्युनिष्ट पार्टीको नेतृत्व होईन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिड्दै हुनुहुन्छ ।’
नेता पोखरेलले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिने र गैर कम्युनिष्टहरूको सरकार बनाउन खोज्ने स्थिति पैदा गरिएको विषयलाई जनतामाझ लिएर जाने बताउनुभयो । उहाँले जुन उद्देश्यका साथ प्रतिनिधिसभाको विघटन गरिएको थियो त्यो उद्देश्य पूरा भएको दावी गर्नुभयो ।
प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताका विरुद्धमा गरिएका षडयन्त्रको विरोध र भण्डाफोर गर्न नपाउने भन्दै उहाँले दुई महिनाको अवधिमा जनताले सत्य कुरा बुझ्ने मौका पाएको बताउनुभयो ।
‘पार्टी नेतृत्वको रक्षाका लागि, आन्दोलनको रक्षाको लागि स्वभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने कुरालाई हामी सबैले बुझ्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘त्यतिबेला विघटन नगरेको भए पार्टी नेतृत्वको विरुद्धमा, आन्दोलनका विरुद्धमा, एकताका विरुद्धमा जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो त्यसको विरोध र भण्डाफोर गर्ने अवसर हामीले पाउने नै थिएनौं ।’
नेता पोखरेलले प्रतिनिधिसभा विघटनको उद्देश्य दुई महिनाको अवधिमा पूरा गरिसकेकाले संसद् पुनःस्थापना भएर केही नबिग्रिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्