१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लाभको लेखाजोखा गर्दै देउवाः जसको प्रस्ताव फलदायी, उसकै अनुयायी !


0
Shares

रोमन आचार्य
काठमाडौं । ज्योतिषीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग छ भन्ने भनाइ अहिले खुबै चर्चामा छ । ज्योतिषीको भविष्यवाणीमा विश्वास गर्ने देउवालाई बदलिएको राजनीतिले पाँचौंपटक प्रधानमन्त्री बन्ने ढोका खोलिदिएको छ ।

नेकपाको ओली तथा दाहाल–नेपाल समूह देउवासँग सत्ता सहकार्य गर्न खोजिरहँदा उहाँ कुन समूहसँग मिल्दा फाइदा हुन्छ भन्ने लेखाजोखा गर्दै हुनुहुन्छ । तर, कांग्रेसभित्रकै अर्को खेमा देउवाको सत्तारोहणमा बाधक बन्ने देखिएको छ ।

सभापति शेरवहादुर देउवाको योजना नेकपाको दुवै समूहसँग छलफल गर्ने तथा जुन समूहबाट आकर्षक प्रस्ताव आउँछ उसैसँग मिलेर सरकार बनाउने हो । उहाँले आफू निकट नेताहरूलाई पटक–पटक गरेको व्रिफिङ्ग हो यो ।

७ पटक प्रधानमन्त्री बन्ने सपना देखिरहनु भएका देउवा नेकपाको दुई समूहबाट आउने अफरको पोकोलाई तुलना गर्ने र जुन फलदायी हुन्छ त्यसैमा लाग्ने सोचमा हुनुहुन्छ भन्ने बुझाइ छ । तर, देउवाको सपना पूरा हुन नदिन पार्टी इतर समूह बाधक बन्ने देखिएको छ । महामन्त्री शशांक कोइराला अहिलेको परिस्थितिमा कांग्रेसले सरकारको नेतृत्व गर्नु पार्टीका लागि प्रत्युत्पादक हुने टिप्पणी गर्नुहुन्छ ।

बुधबारमात्र नेकपा दाहाल–नेपाल समूहले देउवासँगको भेटमा राजनीतिक सहकार्यको प्रस्ताव राखिसकेको छ । तर, देउवा दुवै समूहसँग छलफल गर्ने, लभाहानीको लेखाजोखा गरेर मात्र एउटा समूहलाई काखी च्याप्ने मनस्थितिमा हुनुहुन्छ । नेता प्रदीप पौडेल असहिष्णु ढङ्गबाट सत्ता साझेदारी गरेर सरकार बनाउनुको तुक नरहेको जिकिर गर्नुहुन्छ ।

सरकार बनाउन १ सय ३८ सांसद आवश्यक पर्दछ । संसदमा अहिले कांग्रेसको ६१ सांसद छन् । देउवा यही निर्णायक मतको आधारमा शक्तिको बार्गेनिङ्ग गरिरहनुभएको छ । तर, देउवाको आफ्नै दलको अर्को खेमाले यसलाई रुचाइरहेको छैन ।