१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपाको दुई समूह सरकार बनाउने र टिकाउने होडमा


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको लागि नेकपाका दुबै पक्ष सक्रिय देखिएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उहाँकै निवासमा पुगेका थिए ।

काँग्रेससँग मिलेर सरकार बनाउनका लागि दाहाल–नेपाल पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । जवाफमा देउवाले पार्टीमा छलफल गर्ने बताउनुभयो ।

नेकपाको दाहाल–नेपाल पक्षले जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग पनि नयाँ सरकार गठनबारे छलफल गरेका छन् ।

अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

नेकपाको दाहाल–नेपाल पक्ष, काँग्रेस, जसपाले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधसभामा अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीका सहयोगीहरुले भने प्रधानमन्त्रीको राजीनामा नआउने बरु संसदमा आवश्यक प्रक्रिया ‘फेस’ गर्ने बताउँदै आएका छन् ।

ओली पक्षको यो भनाइका आधारमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउने दिशामा कुनै न कुनै रुपमा भूमिका निर्वाह गरिरहेको बुझ्न सकिन्छ ।

सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ । नेकपासँग सभामुखसहित १७४ सांसद छन् ।

तर यो दल दुई गुटमा विभाजित भएका कारण ओली पक्षलाई आफ्नो सरकार बचाउन र दाहाल–नेपाल पक्षलाई ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अन्य दलको सहारा लिनुपर्ने बाध्यता देखिन्छ ।

प्रतिनिधिसभामा नेकपाको दाहाल–नेपाल पक्षमा ९० सांसद रहेको दावी गरिएको छ भने नेकपा ओली समूहले ८४ सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।

सरकार बनाउँन यी दुई समुहले कांग्रेस वा जसपाको साथ लिनैपर्ने बाध्यता छ ।