
काठमाडौं । विश्व बैंकले नेपाललाई वनमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि फरेस्ट कार्बन पार्टनरशीप फेसिलिटी अन्तर्गत ५ अर्ब २२ करोड रुपैयाँ सहयोग दिने भएको छ ।
नेपालले वन फँडानी र वनविनाशले निम्त्याउने कार्बन उत्सर्जन न्यूनीकरणका लागि सन् २०२५ सम्म यस सहयोग अन्तर्गत काम गर्न सक्नेछ । सहयोगबाट नेपालले तराई क्षेत्रमा वनजन्य स्रोतबाट दीगो जनजीविका विकासमा समेत गर्न सक्ने बताइएको छ ।
चार वर्षमा ९० लाख टन कार्बन उत्सर्जन घटाए नेपालले विश्व बैंकबाट ५ अर्ब २२ करोड रुपैयाँ पाउने सम्झौतामा उल्लेख छ । कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौतामार्फत् नेपालले तराई क्षेत्रमा ९० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण गर्नेछ ।
उक्त सम्झौतापत्रमा वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली र विश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
जर्भोसले नेपालमा सामुदायिक वन विकासको तीन दशकको अभ्यासले उत्सर्जन न्यूनीकरण कार्यक्रम तयार भएको भन्दै उत्सर्जन न्यूनीकरणमा आधारित भुक्तानी विधि नेपालमा वनजंगलमा आधारित जलवायु परिवर्तनका असर न्यूनीकरणको रणनीतिक कार्यक्रम भएको बताउनुभयो ।
यो लगानी सुविधाले नेपालमा वनफँडानी, वनविनाशलाई न्यूनीकरण गर्नुका साथै समुदायमा आधारित वन विकासका कार्यक्रमलाई थप प्रोत्साहन गर्ने उहाँको भनाइ छ । यो कार्यक्रम अन्तर्गत नेपालले तराइको २४ लाख हेक्टर क्षेत्रमा वनफँडानी र वनविनाशको दर न्यूनीकरण गर्नेछ साथै वन क्षेत्रले ओगटेको २० प्रतिशत भूभागमा वन संरक्षण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्