१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घर–घरमै स्वास्थ्य सेवा पाएपछि बझाङका स्थानीय दङ्ग


0
Shares

डीबी विष्ट
बझाङ । जिल्लाका स्थानीयको घर–घरमा स्वास्थ्यको पहुँच पुग्न थालेको छ । विकट गाउँका स्थानीय बासिन्दा घर–घरमौ स्वास्थ्य सेवा पाउन थालेपछि दङ्ग परेका छन् ।

विकट ठाँउहरूमा स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत विशेषज्ञसहितको संयुक्त टोलीले शिविर सञ्चालन गरेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ । शिविरबाट अति विपन्न, गरिब, बेसहारा, अपाङ्ग, वृद्धवृद्धाहरूले पनि सहजै स्वास्थ्यसेवा पाएका छन् ।

जिल्लाको खप्तडछान्ना, थलारा गाउँपालिका र बुंगल नगरपालिकामा एकीकृत प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्दा सैयौंले सेवा पाएका छन् । आर्थिक अभावका कारण सदरमुकाम चैनपुर पुगेर औषधि उपचार गर्न नसक्ने अतिविपन्न परिवारका व्यक्तिले सबै स्वास्थ्य सेवा घरमै पाएपछि हर्षित छन् ।

स्थानीयले प्रजनन् स्वास्थ्य सेवा, नसर्ने रोगसम्बन्धी सेवा, रोग तथा कुष्ठरोग सेवा, जनरल ओपिडी, आँखा स्वास्थ्य सेवा, भिडियो एक्सरे, ईसीजी सेवा, पाठेघरको मुखको क्यान्सरको जाँच सेवा लगायतको उपचार निःशुल्क पाएका छन् । स्थानीय ललीत कठायत दाँत, आँखा कान लगायतका सबै स्वास्थ्य सेवाहरू नजिकै पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

शिविरमा महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षणसमेत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका अन्य दुर्गम ठाँउहरूमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको कार्यालय प्रमुख भानुभक्त जोशीले बताउनुभयो ।

दुर्गम क्षेत्रमा रोग लाग्न नदिने भन्दा पनि रोग पाल्ने प्रवृत्ती बढ्दै गएकाले यसलाई चिर्नका लागि जनचेतनामुलक कार्यक्रमसमेत गरिएको छ । दुर्गम क्षेत्रमा सञ्चालन गरिएका शिविरबाट झण्डै दश हजार भन्दा बढी स्थानीयले सेवा पाएका छन् ।

स्वास्थ्यमा जटिल समस्या देखिए उनीहरूलाई परामर्शपछि जिल्ला अस्पताल र बाहिरका जिल्लाहरूमा समेत रेफर गरिन्छ । त्यसैले पनि स्वास्थ्यसेवाको पहुँच नपुग्ने यस्ता पिछडिएका दुर्गम बस्तीमा निःशुल्क शिविरहरूले सञ्चालन गर्नु आवश्यक छ ।