२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सडक-विस्थापित काठमाडौंवासीका पीडा-‘सर्वोच्चको आदेश लत्याएर डोजर चलाइयो’


0
Shares

काठमाडौं । सडक विस्तारको क्रममा अन्यायपूर्ण ढंगबाट विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न नागरिक संगठनहरूको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारका क्रममा काठमाडौंका आदिवासी नेवारहरूलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेकाले आन्दोलन गरिएको अभियन्ता राजेन्द्र महर्जनले बताउनुभयो ।

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रूपमा विस्थापित गराएको पीडितहरूको गुनासो छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर मुआब्जा र क्षतिपूर्तिविना सरकारले घर भत्काएको पीडितहरूको आरोप छ ।

घर भत्काउन अवरोध गर्दा घरधनी तथा अभियन्ताहरूलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरूलाई विनाशर्त रिहाइको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताउनुभयो ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरू भत्काएको उहाँको भनाइ छ ।

वर्षौंदेखि सरकारी निकायसँग सिफारिस लिइ बनाएको घर तथा कानूनी रूपमा पनि आफूहरूको जित भएको भए पनि राजनीतिक कारण घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरू रिहाइ नभए र विस्थापित भएका परिवारहरूको बारेमा न्यायिक निरुपण नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ ।