
काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ नागरिकको तर्फबाट स्टेसनरी, खेलकुद, स्वास्थ्य र ड्रेस सहयोग गरेको छ ।
शुक्रबार विद्यालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले आफैँले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्षमा खेलकुद, स्वास्थ्य सामग्री, स्टेसनरी तथा ड्रेस सहयोग गरेको बताउनुभयो । चीन सरकारको सहयोग निरन्तर प्राप्त भइरहेको भन्दै मन्त्री श्रेष्ठले राजदुत यान्छीलाई धन्यवाद समेत दिनुभयो ।
२०७२ सालको भूकम्पबाट दरबार हाइस्कुल पूर्ण रुपमा क्षति भएपछि चीन सरकार आफैंले विद्यालय भवनको निर्माण गरेको थियो । पुनर्निमाणपछि बनेको भवनमा रहेका कक्षा कोठाहरू ठूला, फराकिला र आधुनिक देखिएको छ । चीनको सहयोगमा नै विद्यालयमा फर्निचर लगायतका सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निमाणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्