१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नयाँ सरकार गठनको रणनीतिः घनीभूत दौडमा दाहाल-नेपाल, ओलीको पनि जबरजस्त तयारी


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनासाथ अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउने रणनीतिमा लागेको नेकपाको दाहाल–नेपाल समूहले राजनीति परामर्श र भेटघाटलाई घनीभूत बनाएको छ ।

सभामुखसहित नेकपाको १७४ सांसद रहेकोमा दाहाल–नेपाल समूहसँग ९० सांसद रहेको दाबी गरिएको छ । तर, नयाँ सरकार बनाउन १३८ जना सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । ओलीलाई पदबाट हटाउन र नयाँ सरकार बनाउन पनि दाहाल–नेपाल समूहलाई अन्य दलको सहारा लिनुपर्ने बाध्यता छ ।

नेकपाभित्रको विवाद नै नसुल्झिएको अवस्थामा सत्ता समिकरणको अर्थ नरहने भन्दै जसपा र कांग्रेसले तत्कालका लागि दाहाल–नेपाल समूहको प्रस्ताव अस्वीकार गरिसकेका छन् ।

उता, संसद सामना गर्ने निर्णयमा पुगेको ओली पक्ष पनि जबरजस्त तयारीमा जुटेको छ । राजनीतिक विश्लेषक आनन्दराम पौडेल प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउने सम्भावना बलियो देखिए पनि दाहाल–नेपाल समूहका लागि नयाँ सरकार गठन त्यति सजिलो नरहेको बताउनुहुन्छ ।

ओली समूहले नयाँ सरकार गठन हुनै नदिने रणनीतिमा कांग्रेससहित अन्य दलका नेताहरूसँग लविङ गर्न सक्ने सम्भावना पनि राजनीतिक विश्लेषकहरूले देखेका छन । विश्लेषक पौडेलले पार्टी फुटेको अवस्थामा भने कांग्रेसलाई अघि सारेर सरकार बचाउने खेलमा ओली लाग्न सक्ने बताउनुहुन्छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने बताएर फैसलालाई सामान्य रूपमा लिनुभएका प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्तावको चुनौतिलाई कसरी सामाना गर्नुहुन्छ, त्यसले आगामी बाटो प्रष्ट पार्नेछ ।