
केशव कोइराला (ईमेज)
बर्दिया । बर्दियाका मुक्त कमैयाहरुले जग्गा धनी पुर्जा पाए पनि अझै जमिन उपभोग गर्न पाएका छैनन् ।
सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जा बोकेका अधिकांश मुक्त कमैयाहरुको जग्गा सुकुम्वासीहरुले दशकौदेखि जोतभोग गर्दै आइरहेका छन् ।
बर्दियाका मुक्त कमैयालाई बसोवास गर्न सरकारले हचुवाका भरमा दिएको जग्गा धनी पुर्जाले अधिकांश मुक्त कमैयाहरु समस्यामा परेका छन् ।
गेरुवा गाँउपालिका– ५ बन्जरियाका १० घर मुक्त कमैयासँग पुर्जा त छ तर उनीहरुले जमिन उपभोग गर्न भने पाएका छैनन् । उनीहरुको जग्गा भुमिहीन सुकुम्वासीले दशकौदेखि जोत भोग गर्दै आइरहेका छन् ।
सरकारले मुक्त कमैयाका प्रत्येक परिवारलाई दुई स्थानमा गरि ५/५ कट्ठा जग्गा दिएकोमा एक ठाँउमा उनीहरु बसेको तर अर्को ठाँउको जग्गा जोत भोग गर्न नपाएको मुक्त कमैया छल्लु थारुको भनाइ छ ।
आफुले २०४० सालबाट जोत भोग गर्दे आएको जग्गा कुनै पनि हालतमा नछोड्ने तर सरकारले वैकल्पिक व्यवस्था गर्नुपर्ने सुकुम्वासी चेलुवा थारुको तर्क छ ।
स्थानीय सरकारले एक पक्षबाट बहाल कर लिने र अर्को पक्षबाट राजस्वको नाममा रकम लिँदै आएको छ ।
पीडित पक्षहरुले आफुकहाँ समस्या लिएर आएको तर स्थानीय सरकारले केही गर्न नसक्ने भन्दै भुमिसुधार कार्यालयमा पठाएको गेरुवा गाँउपालिकाका उपाध्यक्ष हिम कुमारी थरुनी बताउनुहुन्छ ।
स्थानीय सरकारकोमा जाँदा भुमिसुधार कार्यालय पठाउने तर भुमिसुधार कार्यालयमा जाँदा स्थानीय सरकारकोमा पठाउने गर्दा दोहोरो मारमा छन् यहाँका मुक्त कमैया ।
भुमि सम्बन्धि समस्या समाधान आयोगले अहिले भुमिहीनहरुको लगत लिने कार्य गरिरहेको छ ।
तर पुरानै समस्याको समाधान नगरि लगत दिने कार्यले भने मुक्त कमैयाको समस्या ज्यूंका त्यूं रहेन आशंका छ ।
प्रतिक्रिया दिनुहोस्