
बिराज रोस्यारा (ईमेज)
कैलाली । नेपालमा बाघले बासस्थानका लागि नयाँ नयाँ ठाउँ खोज्न थालेको छ । संख्या बढेसंगै बाघले स्थायी बसोबासका लागि नयाँ– नयाँ ठाउँ खोज्न थालेको हो ।
नयाँ वयस्क बाघहरुसमेत स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका छन् ।
बाघको पुख्र्यौली बासस्थानको रुपमा रहेको कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा स्थायी बसोबासका लागि बाघहरु ओहोरदोहोर गर्न थालेका छन् ।
पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै नयाँ वयस्क बाघहरुलेसमेत नयाँ बासस्थानको अभावमा खोजी गर्दै पुख्र्यौली थातथलोतिरै फर्कीन थालेका छन् ।
कैलालीका बिभिन्न क्षेत्रमा निकै पहिले देखि बाघ बस्दै आएको र बीचमा बाहिरतिर भौतारीए पनि बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको बताउनुहुन्छ संरक्षणका क्षेत्रमा काम गर्दै आउनुभएका सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा ।
केहिदिन देखि गौरीगंगा नगरपालिकाको अण्डैयामा देखिएको बाघ एक सातादेखि सोही क्षेत्र आसपास बस्दै आएको उहाँको भनाई छ । बाघले बासस्थानका लागि सुरक्षित स्थानको खोजी गर्दै यहाँ आई पुगेको हो ।
केहि हप्ता अघि कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुगेको थियो ।
बाघको पुस्तौनी बाटो र सिकार क्षेत्र रहेकाले विचरण गर्दै यहाँ आइपुगेको बाघ केही दिनदेखि यतै बसिरहेको संरक्षणविद्हरुको भनाई छ ।
डिभिजन वन कार्यालय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले बाघले आहाराका लागि पनि उचित र सुरक्षित स्थान भेटेपछि केही दिनदेखि यतै डुलिरहेको उहाँको भनाई छ ।
बाघको आहाराका लागि वन्यजन्तु पनि प्रसस्त रहेको र पिउनका लागि पानीको स्रोतका रुपमा खोला रहेकाले यो क्षेत्र बाघका लागि उचित र सुरक्षित भएको उहाको भनाई छ । बाघ देखिएपछि केही दिनदेखि मसुरिया क्षेत्रका आम नागरिकमा त्रास बढेको छ ।
बसन्ता कोरिडोरको सहायक मार्गका रुपमा रहेको सो जंगल हुँदै बाघ अण्डैया–मट्कौना–तालबन्दहुँदै सालघारी पुगेको हो ।
बाघको मुभमेन्टको अध्ययन गर्न अहिले सो क्षेत्रमा १७ वटा स्वचालित क्यामेरा जडान गरिएको छ ।
सव डिभिजन वन कार्यालय मसुरियाका प्रमुख चन्द्र भण्डारीले बाघको मुख्य बासस्थान क्षेत्र भएकाले यहाँ आइपुगेको बाघको कहाँ–कहाँ मुभमेन्ट भइरहेको छ भन्ने जानकारी लिन क्यामेरा ट्रयापिङमा राखेका बताउनु भयो ।
केहि हप्ता अघिमात्र गौरीगंगा नगरपालिका अण्डैयाकी २५ वर्षीया कला धामीलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्युसमेत भएको थियो । स्याउला ल्याउन जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो ।
त्यसको दुई दिन अघि कैलारी गाउँपालिका– दुधियामा स्थानीय २८ वर्षिय दुर्गा चौधरी पनि बाघको आक्रमणबाट घाइते भएका थिए ।
त्यसैले पछिल्लो समय कैलालीमा बढेको बाघ आक्रमण बासस्थानकै अभाव भएकाले यता तर्फ पनि संरक्षणविद्् र संबन्धित निकायले ध्यान पु¥याउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्