
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाणका आधारमा जोसुकैलाई कारबाही गर्ने बताउनुभएको छ ।
घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामहरू भन्दा बढी प्रभावकारी ढङ्गले काम गर्ने पनि बताउनुभएको हो ।
नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरूलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । यस्तै निर्दोष व्यक्तिलाई भ्रष्टाचारको दायराभित्र ल्याउने कुनै पनि व्यक्तिलाई कारबाही गर्ने बताउनुभयो ।
विना पूर्वाग्रह कानून, विधि र प्रक्रियामा रहेर भ्रष्ट्राचार नियन्त्रणको कामकारबाहीलाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आयोगको इतिहासमै भ्रष्ट्राचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने पनि प्रमुख आयुक्त राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्