
अक्कल कुँवर
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने धेरैको अनुमान थियो । तर, प्रधानमन्त्री ओलीले जुनसुकै परिस्थिति उत्पन्न भए पनि संसदमै सामना गर्ने बताउँदै आउनुभएको छ ।
प्रधानमन्त्रीले राजीनामा नदिएपछिको परिस्थिति हेर्दा नेकपाकै दाहाल–नेपाल समूहले तत्काल चाल्ने कदम हो, ओलीलाई संसदीय दलको नेताबाट हटाउने । यसका लागि तत्काल संसदीय दलको बैठक बोलाउनको लागि उपनेता समक्ष निवेदन दिने ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि संसदीय दलको नेताबाट हटाउनु प्रस्थान विन्दु हो । यो विकल्प दाहाल–नेपाल समूहका लागि प्रक्रियासङ्गत र सजिलो बाटो भए पनि नेकपा संसदीय दलको विधान चुनौतीपूर्ण छ ।
कानुनतः अहिले संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ भने उपनेता उहाँकै पक्षका नेता सुवास नेम्वाङ । संसदीय दलको बैठकको वैधताका लागि संसदीय दलका नेता या उपनेताले नै निर्णय गर्नुपर्छ । संसदीय दलको बैठक २३ गतेभन्दा अगाडि विधिपूर्वक बोलाउने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई बताउनुहुन्छ ।
नेकपा संसदीय दलको विधानअनुसार दलको एक चौथाइ अर्थात २५ प्रतिशत सांसदले बैठक राख्न माग गर्दै दलका उपनेतालाई निवेदन दिनुपर्छ । संसदीय दलको एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनेर लिखित रूपमा पेश गरेको खण्डमा १५ दिनभित्र बैठक बोलाउनैपर्ने व्यवस्था विधानमा छ ।
यदि दाहाल–नेपाल समूहले ओलीको बहिर्गमन चाहेको हो भने ओली संसदीय दका उपनेता नेम्वाङसमक्ष बैठक बोलाउन आग्रह गर्नुपर्ने हुन्छ । यसका लागि दाहाल–नेपाल समूह ओली पक्षसँग झुक्न तयार छ कि छैन भन्ने प्रश्न पनि उठेको छ ।
विधिसम्मत बैठक माग गरेको अवस्थामा जुनसुकै प्रयोजनको लागि भए पनि दलको बैठक बोलाउन आफूहरू तयार रहेकाे प्रमुख सचेतक भट्टराई बताउनुहुन्छ । ‘हामी जतिखेर पनि बैठकमा बस्न र बोलाउन तयार छौं,’ उहाँ भन्नुहुन्छ, ‘आफ्नै पार्टीका सांसदहरूलाई बोलाएर बैठक गर्न प्रधानमन्त्रीलाई के गाह्रो भयो र ?’
नेकपाको संसदीय दलभित्र हुने निर्णयले नेकपा र भावी सरकारबारे महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । तर, संसदीय दलमा आफ्नो पल्लाभारी बनाउन दुवै पक्षले आन्तरिक खेल सुरु गरिसकेका छन् ।
संसदीय दलभित्रको खेल आफ्नो पक्षमा पार्नकै लागि प्रधानमन्त्री ओलीले दलको विधान अनुसार नै देव गुरुङलाई प्रमुख सचेतकबाट हटाएर विशाल भट्टराईलाई नियुक्त गर्नुभएको हो । योसँगै नेकपा प्रतिनिधिसभा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षीय छन् ।
प्रतिक्रिया दिनुहोस्