
प्रकाश लिम्बु
धनकुटा । हरियाली चिया बगान । बगानको बीचमा स्वच्छ र सफा पोखरी । चिटिक्क परेका रंगीन घरहरू । प्रकृतिको सुन्दर प्रतिक झैँ देखिने । विभिन्न मुर्तीहरूसँगै सजिएको छ धनकुटाको पाख्रिवासमा रहेको यो सन्सारी सिमसार क्षेत्र । सुन्दर सिमसारमा रमाइरहेका छन् युवायुवतीहरू ।
सिमसार क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गरेसँगै यो क्षेत्रमा पर्यटकहरूको आकर्षण पनि बढ्दै गएको छ । केही वर्षअघिसम्म जंगलै जंगलले घेरिएझैंँ देखिएको सिमसार क्षेत्रमा अहिले भने आन्तरिक पर्यटकको ओहोरदोहोर देख्न सकिन्छ ।
धनकुटा सदरमुकामदेखि १९ किलोमिटर उत्तरतर्फको यात्रा गरेपछि संसारी क्षेत्र पुग्न सकिन्छ । चियाका बुट्टाहरूसँगै केही पर्यटक तस्वीर लिइरहेका हुन्छन् भने केही आफ्नै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् । अहिले यो स्थलमा वनभोजका लागि पनि स्थानीयहरू आउने गरेका छन् । विभिन्न आकृति, चियाबगानसँगै तालमा रमाउँदा छुट्टै आनन्दको अनुभूति हुने गरेको पर्यटक किरण भुजेल बताउनुहुन्छ ।
२५ रोपनी क्षेत्रफलमा रहेको संसारीमा बगेर खेर जाने पानीलाई बाँध बाँधेर बनाइएका जोर पोखरीमा डुङ्गा सयर गर्ने व्यवस्था गरिएको छ । संसारीमा बुद्व, काली, हनुमानको मुर्ति निर्माण भइसकेको छ । यो वर्ष प्रदेश सरकारको २० लाख रुपैयाँ लगानीमा ४ वटा मिनी चिडियाखाना, शिवको मूर्ति र मूर्ति वरिपरी रेलिङले संरक्षण गरिएको सन्सारी सिमसार संरक्षण समितिका सदस्य श्याम प्रकाश राई बताउनुहुन्छ ।
साना तथा ठूला सवारी साधनबाट सहजै पुग्न सकिने यो सिमसार क्षेत्र पर्यटकीय सम्भावना बोकेको गन्तव्यको रूपमा विकास हुँदै गएको देखिन्छ । त्यसैले पनि यस क्षेत्रमा पर्यटकहरूलाई थप आकर्षित गर्न तीनै तहका सरकारको ध्यान जानु आवश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्