
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था फालेर प्रजातन्त्र बलियो हुन्छ भन्नेहरू अहिले सडकमा उत्रिएको टिप्पणी गर्नुभएको छ । राजसंस्था फालेर प्रजातन्त्र, लोकतन्त्र बलियो हुन्छ भन्ने पात्रहरू नै अहिले संविधान र लोकतन्त्रमाथि संकट आएको भन्दै सडकमा उत्रिएको भन्दै उहाँले टिप्पणी गर्नुभयो ।
काठमाडौंमा शनिबार आयोजित सक्रिय सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थासहितको हिन्दुराज्य स्थापना गर्नुपर्ने माग गर्नुभयो । राजसंस्था हटाएर प्रजातन्त्र बलियो हुने दाबी अहिले असफल भइसकेको बताउँदै अध्यक्ष थापाले हिन्दुराष्ट्र फिर्ता हुनुपर्ने जिकिर गर्नुभयो ।
अध्यक्ष थापाले राजा फालेको एक दशक बितेलगत्तै लोकतन्त्र र प्रजातन्त्रमाथि किन संकट आयो भनी प्रश्नसमेत गर्नुभयो । मुलुकमा भ्रष्टचार, सर्वसत्तावाद, विदेशी चलखेलकै कारण मुलुकको राष्ट्रिय एकता र स्वतन्त्रता कमजोर भएको उहाँको भनाइ छ ।
पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर जबराले धर्मनिरपेक्षताको मुलुक चल्न नसक्ने दाबी गर्दै अहिलेका पार्टीहरूले देशप्रतिको जिम्मेवारी पालना गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले अब मुलुकलाई पुन सांस्कृतिक परम्परामा आधारित हिन्दुराष्ट्र बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यकर्ताहरूलाई सक्रिय सदस्यता वितरण गर्नुका साथै नवप्रवेशीहरूलाई स्वागत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्