१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सामाजिक बहिष्करणमा परेका टङ्कप्रसादलाई न्याय दिलाउन आयोगको आग्रह


0
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषित रूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय दिलाउन आग्रह गरेको छ ।

छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा आचार्य सामाजिक बहिष्करणमा पर्नु भएको थियो ।

उहाँलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो।

आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले विज्ञप्ति जारी गर्दै पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो।

जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ।

आयोगले सामाजिक कुरीति तथा विभेदविरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानूनद्वारा दण्डनीय हुनसक्ने कुनै पनि कार्य नगर्न / नगराउन स्थानीयवासी एवं राजनीतिक दललाई आग्रह समेत गरेको छ।