
दिपक श्रेष्ठ
काठमाडौं । यातायात व्यवस्था विभागले फागुन महिनाभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको व्यवस्था गरेको छ ।
यो कार्य सकिएपछि भने निजी सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरिने विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनु भयो । पूर्व संझौता अनुसार अंग्रेजी भाषामा निजी तथा सरकारी सबै किसिमका सवारी साधनमा इम्बोस्ड नम्बर राखिने उहाँले जानकारी दिनुभयो ।
हालसम्म विभागले सरकारी, सार्वजनिक र निजी गरी ६ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेको छ । बांकी २५ लाख सवारीसाधनमा पनि अब यो व्यवस्थालाई अनिवार्य गर्न लागिएको प्रवक्ता भुसालले जानकारी दिनुभयो ।
प्रबक्ता भुसाल अनुसार इम्बोस्ड नम्बर प्लेट जडान भएको कुनै पनि सवारीसाधनको गन्तव्य पहिचान गर्न सजिलो हुने र त्यसको लागि विभिन्न स्थानमा रेडियो फ्रिक्वेन्सी आइडिन्टिफिकेशन आरएफआइडी गेट राख्ने तयारी भैरहेको छ ।
उक्त गेटबाट आउत जावत हुने सम्पुर्ण सवारी साधनको रेडियो फिक्वेन्सीले सुचना सकलन हुने भएको हुदा सवारी साधन हराउनेदखि सवारी साधन प्रयोग गरि हुने अपराधमा समेत कमी आउने दाबी प्रबक्ता भुसालको छ ।
सवारी साधन का गुडिरहेको छ भन्ने कुराको सुचना दिन्छ । इम्बोस्ड नम्बरले गाडीहरु कता चलिरहेका छन् भन्ने पनि थाहा हुन्छ र गाडी प्रयोग गरेर अपराध गरेर भाग्नेलाई समाउन महत्पुर्ण भुमिका निर्वाह गर्ने उहाँको भनाई छ । ‘इम्बोस्ड नम्बर राखेपछि कोही अपराधी उम्किन पाउदैनन,’ उहाँले भन्नुभयो ‘भारतबाट आएर अपराध गरे पनि पत्ता लगाउन सकिन्छ ।’
इम्बोस्ड नम्बर प्लेट जडानका लागि ठूला सवारीसाधनदेखि साना सवारी साधनमा फरक फरक शुल्क निर्धारण गरेको छ । सातै प्रदेशमा रहेका यातायात व्यवस्था कार्यालयमा इम्बोस्ड नम्बर जडान हुनुपर्ने भएपनि हालसम्म बागमती प्रदेशको काठमाडौंमा रहेको यातायात व्यवस्था कार्यालयमा मात्र जडान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्