
काठमाडौं । मोरङको उर्लाबारीका प्रबिन बाँस्तोला हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई पक्राउ गरेको हो ।
हत्या भएको रात उर्लाबारी नगरपालिका–७ का रमेश गिरीको घरमा रहेको साथीको डेरामा प्रबिन सुतेका थिए ।
उर्लाबारी–५ घर भएका प्रबिनको हत्या आरोपी गिरीलाई हिजो पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रविन बिहान अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।
स्थानीय गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृत्यु भएको दिन प्रबिन आफ्ना साथी सुदिप परियार, मेहरमान दर्जी र दीलिप पौडेलको डेरामा सुतेका थिए ।
त्यहाँ ३१ वर्षीय राजेश रणपहेली पनि सँगै थिए । प्रबिन बास्तोलाको हत्या आरोपमा उपस्थित गराइएका दुई जनामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ ।
बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले अर्का आरोपी कुमार राईलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
कुमार स्थानीय सौरभी होटलका सञ्चालक हुन् । हत्यामा संलग्नमध्ये ३ जना फरार छन् ।
मृतकका आफन्तले प्रहरी अनुसन्धानमा प्रश्न उठाएपछि डिएसपी मानबहादुर राईको नेतृत्वमा छानबिन समिती गठन गरिएको छ ।
समितीले आज प्रतिवेदन बुझाउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्